२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

बाढीपीडित गाउँ फर्कने तयारीमा

तिहारपछि थातथलो फर्कने तयारीमा भोटेकोशी बाढीपीडित, पुनर्स्थापनाको ठोस योजना माग

स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रित रसुवाका बाढीपीडितले स्थायी पुनर्स्थापनाको योजना नआएको भन्दै खाद्यान्न, अस्थायी आवास र गाउँ फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

बिहिवार , कार्तिक १९, २०८३

नेपालसेज/ काठमाडौं।
भोटेकोशी बाढीबाट विस्थापित रसुवाको टिमुरेका बासिन्दाले सरकारले पुनर्स्थापनाको ठोस योजना नल्याएको भन्दै तिहारपछि आफ्नो थातथलो फर्कने तयारी गरेका छन्। काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित उनीहरूले गाउँ फर्कने वातावरण बनाउन र तत्कालका लागि खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
रसुवाको टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौंको होल्डिङ सेन्टरमा बस्दै आएकी छन्। बाढीले घरजग्गा बगाएपछि उनको परिवारसमेत छरिएको छ। श्रीमान् अलगै रहेको र छोरी विवाह गरेर गइसकेकाले उनी एक्लै बस्दै आएकी छन्। टिमुरेमा आफ्नो जग्गा र घर केही नरहेको तथा भएको सम्पत्तिसमेत बाढीपहिरोले बगाएको उनले बताएकी छन्। हाल संस्थाको सहयोगमा खानबस्न पाइरहेको उनको भनाइ छ।

सम्पादकीय सारांश

Verified

भोटेकोशी बाढीबाट विस्थापित ४११ जना दुई महिनादेखि काठमाडौंको मुस्ताङ गुम्बामा आश्रित।

सरकारले पुनर्स्थापनाको ठोस योजना नल्याएको भन्दै पीडित तिहारपछि टिमुरे फर्कने तयारीमा।

पुनर्वासका लागि खाद्यान्न र अस्थायी टहराको व्यवस्था गर्न सरकारसँग माग।

सरकारले दिने मासिक १५ हजार रुपैयाँ काठमाडौंमा बसोबास गर्न अपर्याप्त भएको पीडितको गुनासो।

मुस्ताङ गुम्बामा १७१ बालबालिका र ८० वृद्धवृद्धासहित ४११ जना आश्रित।

सरकारले स्थायी व्यवस्थापनबारे कुनै जानकारी नदिएको गुनासो गर्दै गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङले तिहारपछि गाउँ फर्कने तयारी गरेको बताएका छन्। सधैँ होल्डिङ सेन्टरमा बस्न सम्भव नहुने उल्लेख गर्दै उनले जन्मभूमिमा फर्केर पुरानो परम्परा र रीतिरिवाज जोगाउन चाहेको बताएका छन्। रसुवागढी नाकालाई छिटो पुनर्निर्माण गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्। टिमुरेमाथिको डाँडामा बासस्थान बनाउने योजना रहेको बताउँदै उनले पुनर्वासका लागि खाद्यान्न र अस्थायी टहराको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्। बाढीपछि राहतस्वरूप प्राप्त रकम पुनर्स्थापनाका काममा प्रयोग गर्नुपर्ने उनको सुझाव छ। काठमाडौंको गुम्बामा बस्दा स्थानीय समाज, संस्कृति र खानपिनसँग मेल नखाएको अनुभवसमेत उनले सुनाएका छन्।

बाढीपीडित परिवारका बालबालिकाको भविष्य पनि चिन्ताको विषय बनेको उनले बताएका छन्। अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य र शिक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने उनको माग छ। पीडितका समस्या सम्बोधन नभए सडकमा आउन बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।

अर्की पीडित पासाङ तामाङले पनि आफूहरूको प्रमुख समस्या बासस्थान रहेको बताएकी छन्। सबै टिमुरेवासीलाई गाउँ फर्किएर बस्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनको माग छ। गाउँ फर्कने बाटो निर्माण गर्नुपर्ने र त्यो तयार नहुँदासम्म सबैलाई एकै ठाउँमा बस्ने अस्थायी व्यवस्था गरिदिन उनले सरकारसँग आग्रह गरेकी छन्। भदौ १० गतेको बाढीको घटना सम्झँदा अझै पनि पीडितहरू त्रसित हुने गरेका छन्। बाढी आएपछि स्थानीय बासिन्दा डाँडातर्फ उक्लिएका थिए। दिनभर उद्धारको प्रतीक्षामा बसे पनि तत्काल सहयोग नपाएको उनीहरूको भनाइ छ। त्यसपछि गाउँकै घरमा रात बिताएका उनीहरूलाई भोलिपल्ट हेलिकप्टरमार्फत उद्धार गरी ८–९ जनाको समूहमा धुन्चे ल्याइएको थियो। त्यहाँबाट स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो।

सरकारले बाढीपीडितलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। तर काठमाडौंमा परिवारसहित बस्न फ्ल्याट भाडामा लिन २० देखि २५ हजार रुपैयाँसम्म लाग्ने भएकाले उक्त रकम अपर्याप्त भएको पीडित पेम्बा जाङ्मु घलेले बताएकी छन्। घरभाडा, खाद्यान्न र बालबालिकाको शिक्षासमेत धान्नुपर्ने अवस्थामा १५ हजार रुपैयाँले खर्च व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ। रकमभन्दा पनि गाउँ फर्कने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरेकी छन्।

टिमुरेबाट उद्धार गरिएका बाढीपीडितलाई सुरुमा १० दिन यल्लो गुम्बामा राखिएको थियो। त्यसपछि उनीहरूलाई स्वयम्भूस्थित मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको हो। हाल मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिलासहित ४११ जना आश्रित छन्। तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images