मुख्य समाचार
लन्डन, बेलायत — बेलायतका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलो नियन्त्रण तथा उद्धार कार्यमा गोर्खा सैनिक परिचालन गरिएको छ। दक्षिण वेल्समा आगलागी नियन्त्रणका लागि करिब १०० जना गोर्खा सैनिकसहित बेलायती सेनाका इन्जिनियरहरू खटिएका छन्।गोर्खा सैनिकले अग्निनियन्त्रण टोलीलाई पानी आपूर्ति, फायरब्रेक निर्माण तथा अन्य लजिस्टिक सहयोग गरिरहेका छन्। उनीहरूसँग २० हजार लिटरसम्म पानी बोक्न सक्ने चारवटा पानी ट्यांकरसमेत परिचालन गरिएको छ।
दक्षिण वेल्समा करिब १०० गोर्खा सैनिक परिचालन।
पानी आपूर्ति र फायरब्रेक निर्माणमा सहयोग।
चारवटा पानी ट्यांकरसमेत परिचालन गरिएको।
बेलायतमा यस वर्ष डढेलोको संख्या रेकर्डस्तरमा।
अत्यधिक गर्मी र सुख्खाले आगलागीको जोखिम बढाएको छ।
बेलायतमा यस वर्ष डढेलोको संख्या रेकर्डस्तरमा पुगेको छ। अत्यधिक गर्मी, लामो समयदेखिको सुख्खा र उच्च आगलागी जोखिमका कारण अग्निनियन्त्रण तथा आपत्कालीन सेवामाथि दबाब बढेको छ।
West Midlands को Stourbridge क्षेत्रमा डढेलोका कारण घरहरू जलेका छन् भने केही स्थानमा बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। देशका विभिन्न क्षेत्रमा दर्जनौँ डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रकहरू परिचालित छन्।
इंग्ल्यान्ड र वेल्सका लाखौँ मानिसलाई आपत्कालीन चेतावनी पठाउँदै बार्बेक्यु, क्याम्प फायर, पटाका तथा अन्य आगो सल्काउने गतिविधि नगर्न आग्रह गरिएको छ।
अत्यधिक गर्मी र सुख्खा अवस्थाबीच गोर्खा सैनिकको परिचालनले बेलायती सेनाले राष्ट्रिय आपत्कालीन अवस्थामा नागरिक सुरक्षामा दिइरहेको सहयोगलाई समेत देखाएको छ।
प्रतिक्रिया दिनुहोस