२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

बजारमुखी पाठ्यक्रममा जोड

बजारको मागअनुसार पाठ्यक्रम बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका पाठ्यक्रमलाई बजारको माग, क्षेत्रगत आवश्यकता र रोजगारीसँग जोड्नुपर्ने बताएका छन्

बिहिवार , कार्तिक १२, २०८३

 

नेपालसेज/हेटौँडा — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका पाठ्यक्रम बजारको माग, भौगोलिक आवश्यकता र रोजगारीका अवसरसँग जोडिनुपर्ने बताएका छन्। बागमती विश्वविद्यालयद्वारा हेटौँडामा आयोजित ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुईदिने गोष्ठीको उद्घाटन गर्दै उनले विश्वविद्यालय स्थापना गर्दा त्यसको औचित्य पुष्टि हुने आधार आवश्यक रहेको बताए। विश्वविद्यालयले सम्बन्धित क्षेत्रको आवश्यकता र रोजगारीको सम्भावनालाई सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ थियो।

सम्पादकीय सारांश

Verified

बजारको माग र भूगोलको आवश्यकतामा आधारित पाठ्यक्रम बनाउनुपर्ने शिक्षामन्त्रीको भनाइ।

विश्वविद्यालय स्थापना गर्नुअघि विश्वविद्यालय अनुदान आयोगसँग समन्वय गर्नुपर्नेमा जोड।

आगामी शिक्षा ऐनमा नतिजामुखी पाठ्यक्रम र गुणस्तर सुनिश्चितताको व्यवस्था स्पष्ट गर्नुपर्ने।

विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगारीमा मात्र सीमित नभई समाजमा योगदान गर्न सक्ने हुनुपर्ने मुख्यमन्त्रीको धारणा।

बागमती विश्वविद्यालयमा उच्च शिक्षा प्रणाली सुदृढीकरण र प्रादेशिक विश्वविद्यालयबीच समन्वयबारे दुईदिने गोष्ठी।

मन्त्री पोखरेलले विश्वविद्यालयहरू भौगोलिक आवश्यकताअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए। विश्वविद्यालय स्थापना गर्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यहाँ सञ्चालन गरिने शैक्षिक कार्यक्रमले सम्बन्धित क्षेत्रको आवश्यकता र श्रम बजारको माग पूरा गर्नुपर्ने बताए। संघीय तथा प्रदेश विश्वविद्यालयबीचको सम्बन्ध र विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे देखिएको अन्योल हटाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे।

विश्वविद्यालय स्थापना गर्नुअघि विश्वविद्यालय अनुदान आयोगसँग परामर्श र समन्वय गरिएको भए अहिले देखिएका कतिपय समस्या सुरुमै समाधान गर्न सकिने मन्त्री पोखरेलको भनाइ थियो। संविधानअनुसार प्रदेशमा एकभन्दा बढी विश्वविद्यालय स्थापना गर्न सकिने भए पनि आगामी दिनमा स्थापना हुने विश्वविद्यालयका विषयमा सुरुदेखि नै आयोगसँग समन्वय गर्नुपर्नेमा उनले जोड दिए।

शिक्षामा लगानी गर्न सरकार पछि नहट्ने बताउँदै मन्त्री पोखरेलले आवश्यकता र उपलब्ध स्रोतका आधारमा लगानी बढाइने स्पष्ट पारे। नतिजामुखी पाठ्यक्रमको निर्माण, प्रयोग र गुणस्तर सुनिश्चिततासम्बन्धी व्यवस्था आगामी ऐनमा स्पष्ट रूपमा समेटिनुपर्ने उनको भनाइ थियो।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगारी प्राप्त गर्न सक्ने मात्र नभई समाजमा योगदान दिन सक्ने हुनुपर्ने बताए। शैक्षिक संस्थाहरू समाजको आवश्यकतासँग जोडिनुपर्ने उल्लेख गर्दै उनले वर्तमान बजारको मागसँगै भविष्यमा आवश्यक पर्ने जनशक्तिको समेत अनुमान गर्नुपर्ने धारणा राखे। ज्ञान र नवप्रवर्तनमा आधारित वर्तमान विश्वमा समयको मागअनुसार शिक्षा प्रणाली विकास गर्न आवश्यक रहेको उनले बताए।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयले समयसापेक्ष आवश्यकतालाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरी अध्ययन–अध्यापन गराइरहेको बताए। नेपालको शिक्षा प्रणालीमा गुणस्तर निर्धारण, नियन्त्रण तथा प्रवर्द्धन गर्ने स्वायत्त निकाय निर्माण हुन नसकेको उनको भनाइ थियो।

आयोजकका अनुसार शुक्रबारसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेशगत प्रस्तुति, विषय क्षेत्रगत समूह छलफल तथा प्रस्तुतिका कार्यक्रम समावेश छन्। गोष्ठीका क्रममा प्रदेश विश्वविद्यालय फोरम गठन गर्ने कार्यक्रमसमेत रहेको छ।

— नेपालसेज | प्रकाशित: १२ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images